नेपाल पुलिस स्कूल दाङको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न

सुदन पौडेल
घोराही, १७ माघ — नेपाल पुलिस स्कूल, घोराही दाङको "४० औँ वार्षिकोत्सव समारोह-२०८१" भव्य रूपमा सम्पन्न गर्न आयोजित सप्ताहव्यापी कार्यक्रमहरूअन्तर्गत आज चौथो दिन नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा घोराहीको सहकार्यमा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।
मिति २०८१ माघ १७ गते आयोजित रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी, शिक्षक, अभिभावक,पत्रकार तथा अन्य शुभेच्छुक गरी ५८ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रमको उद्देश्य रक्त अभाव हुन नदिन योगदान पुर्याउनुका साथै समाजमा रक्तदानको महत्वबारे जनचेतना फैलाउनु रहेको आयोजकले जनाएको छ।
नेपाल पुलिस स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा यस्ता सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। विद्यालय प्रशासनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू आयोजना भइरहेका छन्, जसले विद्यार्थी, अभिभावक र स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने विश्वास गरिएको छ।