देशका १३ जिल्लाका २५०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने ‘सेवा र विकासका लागि युवा’को अभियान

देशका १३ जिल्लाका २५०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने ‘सेवा र विकासका लागि युवा’को अभियान

काठमाण्डौ २०८२ जेष्ठ २

देशका दुर्गम जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी ‘सेवा र विकासका लागि युवा’ अभियानले शैक्षिक सामग्री वितरण कार्यक्रम २०८२ सुरु गरेको छ। यो कार्यक्रमअन्तर्गत कक्षा ८ देखि १२ सम्म अध्ययनरत २५०० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिने भएको छ।

कार्यक्रमअन्तर्गत पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर, र तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेट्री बक्स, प्राज्ञिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत् शब्दकोष, क्याप लगायतका सामग्री उपलब्ध गराइनेछ। साथै गुरुकुल र गुम्बामा अध्ययनरत विद्यार्थीहरू पनि वितरण कार्यक्रमको दायरामा पर्ने छन्।

उक्त शैक्षिक सामग्री भारत सरकारको सहयोगमा प्राप्त भएको हो, जुन मित्रराष्ट्र भारतले ‘सेवा र विकासका लागि युवा’को आग्रहमा प्रदान गरेको हो। भारतले यसअघि पनि नेपालमा शैक्षिक पूर्वाधार निर्माणदेखि छात्रवृत्तिको व्यवस्थासम्म विभिन्न योगदान गर्दै आएको छ।

संस्थाले यसअघि पनि धादिङको चेपाङ बस्तीमा लत्ता कपडा वितरण, बारा हावाहुरी प्रभावित क्षेत्रमा खाद्यान्न वितरण, दाङ, चितवन, पर्वत, लमजुङ लगायत जिल्लामा शैक्षिक सामग्री वितरण, जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा राहत, निःशुल्क कम्प्युटर तालिम, विचार गोष्ठी, सिपमूलक तालिम, सरसफाइ अभियान जस्ता उल्लेखनीय कार्यहरू गर्दै आएको छ।

राष्ट्रिय सचिव श्री खगेन्द्रबहादुर क्षेत्रीका अनुसार विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूलाई आवश्यक सहयोग पुर्‍याउनु सबैको दायित्व हो। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूमा आशा र सम्भावनाको उज्यालो फैलाउने विश्वास गरिएको छ।