शिक्षामा सुविधा र संघर्षबीचको गहिरो खाडल : सामुदायिक र संस्थागत विद्यालयको वास्तविक अस्तित्व ।

शिवराज भुसाल
बैशाक ५,२०८२
हालै नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा शिक्षक आन्दोलन तीव्र भइरहेको छ। आन्दोलनका बीच सरकारी विद्यालयहरू सुनसान छन् भने निजी विद्यालयहरू भर्ना अभियानमा व्यस्त छन्। यस्तो अवस्थामा सामाजिक सञ्जालमा शिक्षकहरूको आन्दोलनबारे अनेक टिकाटिप्पणी भइरहेका छन् भने कोहि समर्थनमा छन्, कोही विरोधमा। यिनै बहसका बीचमा एउटा पुरानै प्रश्न फेरि उठेको छ।
"किन सरकारी विद्यालयको नतिजा निजी विद्यालयको भन्दा कमजोर ?" यो प्रश्न हेर्दा ठिकै लाग्न सक्छ। तर शिक्षाको मूल समस्यालाई बुझ्न चाहने हो भने, यो प्रश्नको उत्तर सतहभन्दा धेरै गहिरो छ।
निजी र सामुदायिक विद्यालयको वास्तविकता कस्तो छ ? के तपाईंले कहिल्यै देख्नुभएको छ ?
- बिहान भोकै पेट, च्यातिएको लुगा र खाली खुट्टा लिएर दुई घण्टा उकालो हिँडेर विद्यालय आइपुगेका नानीहरू ?
- प्लास्टिकको झोलामा किताब बोकेर, जाडोमा काँप्दै कक्षामा बसेका विद्यार्थीहरू?
- न त कापी छ, न त कलम तर पनि उनीहरू पढ्न आएका छन्, सिक्न चाहेका छन्।
यी दृश्य निजी विद्यालयमा भेटिन्छन् त ? शायद होइन। तर सामुदायिक विद्यालयमा यस्तो दृश्य दैनिकजसो देखिन्छ। यस्ता कठिन परिस्थितिमा पढिरहेका बालबालिकालाई शिक्षा दिनु भनेको सामान्य काम होइन।
निजी विद्यालय अगाडि किन देखिन्छ ?
निजी विद्यालयका अधिकांश विद्यार्थीहरू आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा सजग र घरपरिवारबाट शिक्षित पृष्ठभूमिबाट आएका हुन्छन्। उनीहरूलाई सिकाइको वातावरण घरमै पाइन्छ। अर्कोतर्फ, सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू सामाजिक, आर्थिक, मानसिक तथा संवेगात्मक रूपमा पछाडि परेका हुन्छन्। तैपनि, यिनै विद्यार्थीहरूलाई पास गराउने, उनीहरूको क्षमता उजागर गर्ने काम प्रतिस्पर्धाबाट आएका, अनुभवी र प्रमाणित शिक्षकहरूले गर्दै आएका छन्। तर दुर्भाग्य नतिजा कम आयो भनेर उल्टै यिनै शिक्षकहरूलाई हेला गरिन्छ।
के परिणामले मात्र शिक्षा मापन हुन्छ ?
शिक्षा भनेको केवल अंकको खेल होइन। जबसम्म विद्यार्थी सिक्नका लागि मानसिक, शारीरिक र सामाजिक रूपमा तयार हुँदैनन्, तबसम्म शिक्षकको प्रयासमात्रै पर्याप्त हुँदैन। त्यसैले यदि सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निजी विद्यालयमा भर्ना गरियो भने, त्यहाँको नतिजा पनि समान रहने छ कि? सायद होइन। त्यसैले नतिजा भन्दा पहिले परिस्थिति बुझ्न सक्ने आँखा चाहिन्छ।
शिक्षकहरूको आन्दोलनबारे बहस गर्नुपर्छ, तर शिक्षकहरूको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन। सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको पृष्ठभूमि बुझ्ने हो भने, त्यहाँ काम गरिरहेका शिक्षकहरू देशका सही नायक हुन्। उनीहरूलाई हेप्ने होइन, सम्मान गर्ने समय हो यो। नतिजा हेर्नुहोस्, तर त्यसपछाडिको संघर्ष पनि बुझ्न नबिर्सनुहोस्। धन्यवाद