अलपत्र सडक शिक्षकको काँधमा दराज

अलपत्र सडक शिक्षकको काँधमा दराज
शिक्षकहरूले सरुमारानी गाउँपालिकाद्वारा उपलब्ध गराइएको दराज पाँच घण्टा लामो पहाडी बाटो हिँडेर आफैं विद्यालयसम्म पुर्याउदै गरेको दृश्य

२०८१ फाल्गुन १२

प्यूठान — यातायातको अभाव र गाउँबाट युवाहरूको पलायनका कारण प्यूठानको कालिका प्राथमिक विद्यालय, सिरबारीका शिक्षकहरूले सरुमारानी गाउँपालिकाद्वारा उपलब्ध गराइएको दराज पाँच घण्टा लामो पहाडी बाटो हिँडेर आफैं विद्यालयसम्म पुर्याएका छन्।

सरुमारानी गाउँपालिकाले विद्यालयका लागि दराज उपलब्ध गराएपछि त्यसलाई विद्यालयसम्म पुर्याउने जिम्मेवारी शिक्षकहरूकै काँधमा आएको थियो। गाउँमा अधिकांश युवा रोजगारी तथा अवसरको खोजीमा शहरतिर पलायन भइसकेका छन् भने गाउँमा वृद्ध, महिला र बालबालिकाहरू मात्र छन्। यही कारण दराज बोक्न गाउँबाट सहयोगी पाउन कठिन भएको शिक्षकहरूको भनाइ छ।

शिक्षकहरूले दुई-दुई पटक गाउँका स्थानीयहरूसँग दराज लिन जाने प्रयास गरेका थिए, तर कठिन पहाडी बाटोका कारण स्थानीय महिला र बृद्धहरूले उठाउन नसकेर रित्तै फर्किनुपर्‍यो। त्यसपछि कुनै विकल्प नदेखेपछि शिक्षकहरू स्वयं दराज बोक्न बाध्य भएका हुन्।

गाउँमा यातायात सुविधा उपलब्ध भए पनि वर्षाको समयमा बाटो भत्किएको र अहिलेसम्म मर्मत नभएको कारण सवारीसाधन सञ्चालन हुन सकेको छैन। त्यसमाथि गाउँपालिकाले उपलब्ध गराएको दराज राखिएको स्थानबाट तत्कालै लैजानुपर्ने भएकाले शिक्षकहरूले अन्तिम विकल्पका रूपमा आफैं बोक्नुपरेको  शिक्षक शिवराज भुसालले जानकारी दिनुभएको हो।

स्थानीय बासिन्दाहरूले गाउँमा आवश्यक सामग्री पुर्याउन सहज पहुँचका लागि गाउँपालिकाले यातायात तथा सडक मर्मतमा सरकारले ध्यान दिनुपर्ने माग गरेका छन्।