मोतिपुर बबइको बोटिङ रोक्न सिडियोको निर्देशन

तुलसीपुर, चैत २९ – दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरस्थित बबई नदीमा सञ्चालन हुँदै आएको मोटरबोट सेवा रोक्न जिल्ला प्रशासन कार्यालयले मौखिक निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले अनुमती, सुरक्षाको व्यवस्था र बीमाजस्ता विषयमा अध्ययन गर्न भन्दै बोटिङ रोक्न आदेश दिएको बताए।
उनका अनुसार पर्यटन विभागको अनुमति, यात्रु सुरक्षाको सुनिश्चितता र बीमाको व्यवस्था नभएको अवस्थामा सेवा बन्द गर्न निर्देशन दिइएको हो।
प्रजिअ लम्सालले जल यातायात नियमावली २०६३ अनुसार व्यवसाय सञ्चालनका लागि पर्यटन विभागको अनुमति आवश्यक हुने स्पष्ट पारे।
इलाका प्रहरी कार्यालय तुलसीपुरका निरीक्षक विनोद खत्रीका अनुसार बिहीबार बेलुकादेखि मोटरबोट बन्द गर्ने निर्देशन आएको हो।
दुई हप्ता अघिदेखि सञ्चालनमा आएको मोटरबोटबाट स्थानीयले राम्रो आम्दानी गर्न थालेका थिए। तर, प्रक्रिया नपु¥याइ अनाधिकृत रूपमा सञ्चालित भएकाले प्रशासनले रोक लगाएको हो।