पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

पाल्पा - पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँशो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते हुनेमा दाङ् जिल्ला राप्ती गाउँपालिका–३ बस्ने चालक झविन्द्र पाण्डे र सहचालक वीरेन्द्र घर्तीमगर रहनुभएको छ । दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये सहचालक घर्तीमगरको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उक्त ट्रक सिमेन्टका बोरा बोकेर अर्गलीतर्फ गइरहेको बेलामा अनियन्त्रित भई दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।