प्याब्सन दाङ र नेपाल विद्यार्थी संघ दाङबीच महत्त्वपूर्ण बैठक सम्पन्न

प्याब्सन दाङ र नेपाल विद्यार्थी संघ दाङबीच महत्त्वपूर्ण बैठक सम्पन्न

२०८१ पौष १६

दाङ, — प्याब्सन दाङ र नेपाल विद्यार्थी संघ दाङ जिल्ला कार्य समिति बीच आज घोराहीमा महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकले विद्यार्थी शुल्क व्यवस्थापन, छात्रवृत्ति वितरण, र शिक्षा प्रणालीको सुधारबारे गहन छलफल गरी ठोस निर्णयहरू गरेको छ।

बैठकमा विद्यालय शुल्कलाई व्यवस्थित बनाउने र शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि विभिन्न सहमति र निर्णयहरू गरिएका छन्। बैठकले विद्यालयहरूद्वारा लिइने शुल्क तथा छात्रवृत्ति सम्बन्धी समस्याहरूको समाधान गर्न ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बैठकका मुख्य निर्णयहरू:

१. छात्रवृत्ति प्राप्त विद्यार्थीहरूका लागि शुल्क समायोजन
छात्रवृत्ति प्राप्त गरेका वा गर्न लागेका विद्यार्थीहरूबाट लिएको शुल्क २०८१ सालको पौष मसान्तभित्र समायोजन गरी सम्बन्धित पालिकाको सामाजिक विकास महाशाखामा विवरण बुझाउने।

२. दोहोरो भर्ना तथा कक्षा वृद्धि शुल्क नलिने
विद्यार्थीको दोहोरो भर्ना र कक्षा वृद्धि गर्दा कुनै अतिरिक्त शुल्क लिन नपाइने। यदि शुल्क लिइएको अवस्थामा, २०८१ सालको पौष मसान्तभित्र समायोजन गर्ने।

३. वार्षिक शुल्कको सीमा
शिक्षा ऐन अनुसार वार्षिक शुल्क दुई महिनाको शुल्क बराबर मात्र लिन पाइने। नियमभन्दा बढी लिइएको रकम पौष मसान्तभित्र समायोजन गर्ने 

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले शिक्षाको गुणस्तर सुधारका साथै शुल्क व्यवस्थापनमा पारदर्शिता कायम गर्न यो  बैठकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, नेपाल विद्यार्थी संघ दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले छात्रवृत्ति वितरण तथा शुल्क निर्धारण गरि थप व्यवस्थित बनाउन लागि विद्यालयहरूले आवश्यक सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

बैठकमा प्याब्सन दाङ र विभिन्न विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।